रोजगारीका सूचकः प्रदेश नं. ३ उत्कृष्ट, सुदूरपश्चिम कमजोर

काठमाडौं, १५ बैशाख । प्रदेश नं.३ रोजगारी सिर्जनामा अरु प्रदेशभन्दा अगाडि देखिएको छ । यहाँ श्रमशक्ति सहभागिता दर ४७.१ प्रतिशत छ भने जनसंख्यामा रोजगारीको अनुपात ४३.८ प्रतिशत रहेको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ का अनुसार प्रदेश ३ मा बेरोजगारी दर पनि सबैभन्दा कम ७ प्रतिशत मात्र रहेको छ जबकि प्रदेश २ मा बेरोजगारी दर २० प्रतिशतभन्दा माथि रहेको छ भने सुदूरपश्चिममा ११.५ प्रतिशत र प्रदेश ५ मा ११.२ प्रतिशत छ । रोजगारी र जनसंख्या अनुपातमा पनि प्रदेश २ प्रदेश १, गण्डकी र प्रदेश ५ भन्दा पछाछि रहेको छ ।

श्रमशक्ति सहभागितालाई हेर्ने हो भने प्रदेश २ प्रदेश ३ पछिपछि देखिएको छ । त्यहाँ ३९.७ प्रतिशत सहभागिता छ जुन राष्ट्रिय औसत ३८.५ प्रतिशत भन्दा केही बढी हो । सबैभन्दा कम श्रमशक्ति सहभागिता सुदूरपश्चिमको रहेको छ । त्यहाँको सहभागिता दर २७.३ प्रतिशत छ । सुदूरपश्चिमलाई पछ्याएको कर्णालीमा पनि सहभागिता दर २७.५ प्रतिशत मात्र छ ।

लैंगिक आधारमा हेर्दा समग्र मुलुककै अवस्था असन्तुलित देखिन्छ । राष्ट्रिय तहमा पुरुषको बेरोजगारी दर १०.३ प्रतिशत रहेकोमा महिलाको १३.१ प्रतिशत छ भने रोजगारी र जनसंख्याको अनुपातमा पुरुषको दर ४८.३ प्रतिशत छ भने महिलाको त्यसको आधाभन्दा पनि कम २२.९ प्रतिशत मात्र छ ।

त्यसैगरी श्रमशक्ति सहभागितामा पनि पुरुष महिलाभन्दा दोब्बरले अगाडि देखिएका छन् । पुरुषको सहभागिता दर करीब ५४ प्रतिशत रहेकोमा महिलाको २६.३ प्रतिशत मात्र रहेको छ ।

प्रदेशगत हिसाबमा भने सबैभन्दा कम महिला बेरोजगार दर कर्णालीको देखिएको छ भने प्रदेश दुईको सबैभन्दा उच्च छ । कर्णालीको महिला बेरोजगार दर ६ प्रतिशत रहेकोमा प्रदेश २ को २८.६ प्रतिशत छ । त्यसैगरी प्रदेश १ र ५ को ११.९ प्रतिशत, सुदूरपश्चिमको ११.५ प्रतिशत, गण्डकीको ८.४ प्रतिशत र प्रदेश ३ को ७.२ प्रतिशत महिला बेरोजगारी दर रहेको छ ।

पुरुष बेरोजगार दरमा पनि प्रदेश दुईको अवस्था राम्रो छैन । त्यहाँका १५.३ प्रतिशत पुरुष बेरोजगार छन् । सबैभन्दा कम पुरुष बेरोजगारी प्रदेश ३ मा छ जहाँ मात्र ६.९ प्रतिशत पुरुष बेरोजगार रहेका छन् ।

श्रमशक्ति सहभागितामा महिला पुरुषको तुलना गर्दा पुनः प्रदेश ३ को अवस्था राम्रो देखिएको छ भने सुदूरपश्चिमको अवस्था खराब देखिएको छ । प्रदेश ३ मा पुरुष र महिलाको श्रम सहभागिता क्रमशः ६० प्रतिशत र ३५ प्रतिशत देखिएको छ भने सुदूरपश्चिममा क्रमशः ४५.६ र १५.७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here