काठमाडौं, २० असार । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
शुक्रबार आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान पाँचबजे मृत्यु भएको गोरखा अस्पतालद्धारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।
ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोजी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।