काठमाडौं, २५ असार । ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना देखिएको किस्ट अस्पतालले जनाएको हो ।
परीक्षणमा धापाखेलकी २९ वर्षीया गर्भवती महिला, ग्वार्को घर भएका ११ वर्षीय बालक, सानागाउँ निवासी ६५ वर्षीय पथ्थरीका समस्या भएका पुरूष र ललितपुर ठेगाना भएकी ६६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार ग्वार्को घर भएका ११ वर्षीय बालक ज्वरो आएर आइसोलेसनमा भर्ना भएका थिए । ६६ वर्षीया महिलालाई दमको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।
सुरूमा उनलाई आईसीयूमा भर्ना गरिएको र पछि स्वास्थ्यमा सुधार आए पनि आइसोलेसनमा सारिएको जानकारी गराइएको छ । कोरोना पुष्टि भएका चारै जनालाई पाटन अस्पताल ‘रिफर’ गर्ने तयारी भइसकेको जानकारी गराइएको छ ।