उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, कुन पदको मनोनयन शुल्क कति ?

काठमाडौं, २८ असार । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रौनक बढेको छ ।

आगामी साउन २६ र २७ गते उपत्यकामा हुने ५४ औं वार्षिक साधारणसभाको लागि महासंघल ललितपुरस्थिति हेरिटेज गार्डेन बुकिङ गरिसकेको छ । साधारण सभाको एजेन्‍डा पनि सार्वजनिक गरेको छ ।

विधानअनुसार नै वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्‍ने भएपछि वरिष्ठ उपाध्यक्ष सहितको प्यानल बनाएर महासंघमा चुनावी सरगर्मी बढेको हो ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उमेद्वारी घोषणा गरिसकेका छन् ।

प्रधान यसअघि पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई शेखर गोल्छाले पराजित गरेका थिए । ढकाल एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध चयन भएका थिए ।

लकडाउन अगाडि प्रचारप्रसारमा व्यस्त दुवै आकांक्षी लकडाउन खुकुलो बन्दै गएपछि पुनः प्रचारप्रसारमा लागेका छन् । चुनावी कार्यतालिका अनुसार साउन २६ गते विहान ९ बजेट साधारण सभाको उद्घाटन हुनेछ ।

महासंघको समिति सदस्यमा चुनाव लड्ने उम्मेदवारका लागि मनोनयन शुल्क ५० हजारदेखि तीन लाख रुपैयाँसम्म तोकिएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि मनोनयन दर्ता शुल्क तीन लाख रुपैयाँ तोकिएको छ । यस्तै उपाध्यक्ष पदका लागि एक लाख ५० हजार र कार्यकारिणी समिति सदस्यका लागि ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

महासंघका सदस्यहरुले आर्थिक वर्ष ०७६/ ७७ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र साउन २६ गते बिहान १० बजेभित्र बुझाइसक्नुपर्नेछ । उम्मेदवार उठाउने सदस्य संघको हकमा यी सबै शुल्क साउन १७ भित्रै बुझाइसक्नुपर्ने महासंघले जनाएको छ ।

साउन २७ गते वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु तथा कार्यकारिणी समिति सदस्यहरुको निर्वाचन हुनेछ । राजनीतिक चलखेलबाट महासंघलाई जोगाउनुपर्ने र सहमतिका आधारमा वरिष्ठ उपाध्यक्ष छान्नुपर्ने माग पनि जोडतोडले उठेको छ ।

त्यसो त महासंघमा अहिले वरिष्ठ उपाध्यक्षसहितको टिम नै सर्वसहमतिबाट बनाउन पूर्वअध्यक्षहरु लागिपरेका छन्। तर,सहमतिमा टिम तयार हुने सम्भावना न्यून रहेको महासंघकै पदाधिकारीहरु बताउँन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here