नबिल बैंकले सुरु गर्‍यो ‘डिजी बैंकिङ’, ६ वर्षमा सबैभन्दा ठूलो हुने दाबी

काठमाडौं, २८ असार । नबिल बैंकले नयाँ पुस्तालाई लक्षित गरी ‘डिजी बैंकिङ’ सुरु गरेको छ। बैंकले आफ्नो ३६ औ वार्षिकोत्सवको अवसरमा नयाँ पुस्तालाई लक्षित गर्दै नयाँ भेन्चर ‘डिजी बैंकिङ’ सुरु गरेको हो ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले भर्चुअल पत्रकार सम्मेलन गरी डिजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने बताए ।

उनले भने, ‘बैंकिङको भविष्य डिजिटल हो, त्यही भएर हामी डिजिटलमा जान थालेका छौं। ३६ वर्ष पुरानो पुस्तालाई पनि नबिल बैंकले ढुक्क बनाएको थियो भने अबको नयाँ पुस्तालाई पनि ढुक्क बनाउने छ। त्यसैले डिजी बैंकिङको सुरुवात गरेका हौं ।’

नबिल बैंकले डिजी बैकिङलाई अगाडि बढाउन केही दिनअघि नै हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ। पत्रकार सम्मेलनमा हुवावे नेपालका प्रमुख डेनी देङले नबिलसँगको साझेदारीले नेपाली ग्राहकलाई डिजिटल बैंकिङ पुर्याउन कोशेढुंगाको काम गर्ने बताए।

बैंकले डिजिटल बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरेको बताएको छ। डिजी बैंकिङको प्रमुखमा विनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ।

‘डिजी बैकिङमा कार्ड मात्र नभएर अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँछ,’ सीईओ शाहले भने, ‘ग्राहकले घरमा नै बसेर आफ्नै मोवाइलबाट सम्पूर्ण काम गर्नेगरी सेवा दिन्छौं।’

उनका अनुसार अहिले नबिल बैंक पायोनियर बन्नका लागि ३६ वर्ष लागे पनि आगामी ६ वर्षमा सबैभन्दा ठूलो बैंक हुनेछ ।

पत्रकार सम्मेलनमा डिजी बैंकिङका प्रमुख विनय रेग्मीले बैंकको पहुँच बाहिर रहेका नेपालीहरुलाई समेट्न डिजी बैंकिङ सहयोगी हुने बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here