राफसाफ टी प्लस २ मा कारोबार गर्ने व्यवस्था यसै वर्षदेखि

काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्डले यसै आर्थिक वर्षदेखि सेयर कारोबारमा ‘टी प्लस टु’को व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डका अध्यक्ष भिष्म ढुंगानाले उक्त जानाकारी गराएका हुन् ।

अहिलेसम्म ‘टी प्लस ३’ को व्यवस्था रहेको छ । अर्थात हालसम्म सेयर किनेको तेश्रो दिन बेच्नेका खातामा पैसा र किन्नेको खातामा सेयर आउने व्यवस्था छ । अब भने सेयर किनेबेच गरेको २ दिनभित्रै बेच्नेले पैसा र किन्नेले सेयर पाईसक्नेछन् ।

त्यस्तै बोर्डले चालु आर्थिक वर्षमा प्राइभेट इक्वटी फण्ड र भेन्चर क्यापिटल संचालन अनुमति दिने भएको छ ।
धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमति दिन लागेको हो ।

यसैगरी केन्द्रीय तथ्याङ्क भण्डारणसम्बन्धी सफ्टवेयर विकास गरी तथ्याङ्कहरुको नियमित प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गर्ने र बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथा विकास गर्ने योजनासमेत अघि सारेको छ ।

यसैगरी धितोपत्र बजारको दीर्घकालीन विकासका लागि ट्रष्ट ऐन र धितोपत्र व्यवसायीहरुको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोवार ऐन मस्यौदा अन्तिमरुप दिने बोर्डको योजना छ।

धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुको परियोजना संचालन अवधि समाप्त भएपछि सम्बन्धित कम्पनी तथा शेयरधनीको अवस्थाका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्थाका लागि अध्ययन गर्ने बोर्डको योजना छ । गैर आवासीय नेपालीलाई प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने योजना पनि नीति तथा कार्यक्रमा छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here