पूँजी बजारमा विदेशी लगानी भित्राउने बाटो खुल्यो

काठमाडौं, ६ साउन । पूँजी बजारमा विदेशी लगानी भित्र्याउने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशिष्टीकृत लगानी कोष नियमाली, २०७५ मा प्रथम संशोधन गरेसँगै पूँजी बजारमा विदेशी लगानी भित्र्याउने बाटो खुलेको हो।

विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको छ ।

भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत थप गरिएको छ ।

योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको बोर्डले जनाएको छ ।

संशोधित नियमावली यही साउन १ गतेबाट कार्यान्वयनमा आएको छ । यो नियमावलीमा भएको संशोधनका मुख्य बुँदाहरु यसप्रकार रहेका छन् ।

१. विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानुनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना गर्न सक्नेछ । कोष व्यवस्थापनको कार्य समेत गर्न सकिनेछ ।

२. प्राइभेट इक्विटी फण्डको दायरा विस्तार गरी यसको परिभाषामा साधारण सेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वःपुँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको छ ।

३. भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण लगानी गर्ने कोष समेत थप गरिएको छ ।

४. योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको छ ।