काठमाडौं, ८ साउन । आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा परेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बताएको छ ।
यसबाट गहना व्यवसायी र आम उपभोक्तामा अन्योल सिर्जना हुन सक्ने विषयलाई ध्यानमा राखी उसले बैंकबाट खरीद गरिएको आधारमा दैनिक खुद्रा मूल्य निर्धारण गर्दै आएको छ ।
हाल बैंक मार्फत पैठारी हुने सुनको थोक विक्री नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघका साथै अन्य दुई महासंघहरु समेत गरी विभिन्न ५ संस्थाबाट सिफारिश गरिएको आधारमा व्यवसायीहरुले सम्बन्धित बैंकबाट खरीद गर्ने गरेका छन् ।
सुनचाँदीको दैनिक मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउने सम्बन्धमा सुझाव प्रस्तुत गर्न आह्वान गर्दै महासंघले मूल्य निर्धारणलाई बैज्ञानिक, पारदर्शी व्यवसाय–मैत्री र आम उपभोक्ताको हक, हितको समेत प्रत्याभूति हुने गरी स्पष्ट प्रणालीको तर्जुमा गर्न आवश्यक रहेकाले सुझाव प्रस्तुत गर्न सरोकारवालासँग आग्रह गरेको छ ।
सुन आयातकर्ता बैंकले दैनिक मूल्यमा एकरुपता कामय नगरेको र कतिपय संस्थाले आधिकारिक मूल्य भन्दै बैंकको आधार मूल्य भन्दा कममा सुन बेचेर बजारलाई बिगतमा अराजक बनाएको पनि महासंघले बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मंत्रालयले उप–सचिव श्री देवीप्रसाद थपलियाज्यूको संयोजकत्वमा सुनचाँदीको दैनिक मूल्य निर्धारण सम्बन्धमा प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । सो कार्यदलमा महासंघको प्रतिनिधित्व रहेकोले उसले सम्बन्धित संस्थासँग सुझाव मागेको संस्थाका महासचिव कृष्णलाल महर्जनले बताएका छन् ।























