चिसो आइसक्रिमकाे मज्जाः गर्मीमा स्वाद र शितलता दुवै

जितेन्द्र खनाल

काठमाडौं, १८ बैशाख । चर्को घामले सताएको बेलामा साथीहरुसँग बसेर चिसो आइसक्रिम खाँदा छुट्टै आनन्द महसुस हुन्छ ।

गर्मीबाट राहत दिने मात्रै होइन यसको स्वाद पनि गज्जबकै हुन्छ त्यसैले के बच्चा, के युवायुवती वा के वृद्धवृद्धा सबैको प्रिय छ, आइसक्रिम ।

आइसक्रिमले गर्मीमा शितलता त दिन्छ नै बजारमा पाइने थरीथरीका स्वाद र फ्लेवरका आइसक्रिमले पारखीहरुलाई यत्तिकै पनि लोभ्याउँछ । त्यसैले होला बजारमा किनमेल गर्न जाँदा होस् वा पार्कमा घुम्न जाँदा गर्मी मौसममा आइसक्रिम पार्लरमा भिड देख्न सकिन्छ ।

जाडो महिनामा ठप्प हुने आइसक्रिमको व्यापार चैत महिनादेखि सुरु भएर असोज सम्म चल्छ । यसपाली गर्मी महिनाको सुरुवातसँगै दैनिक रुपमा पानी पर्न थालेपछि काठमाडौंका आइसक्रिम व्यापारीहरु व्यापार कम हुन्छ कि भनेर चिन्तित थिए तर, केही दिन यता गर्मी बढेपछि भने उनीहरु दंग छन् । आइसक्रिमको व्यापार पनि बढेको छ ।

जमलस्थित विश्वज्योती मलमा आइसक्रिम पार्लर सञ्चालन गर्दै आएकी व्यवसायी रेश्मा क्षेत्री भन्छिन्, ‘यो वर्ष गर्मी मौसमको सरुवात अघिल्लो वर्षको तुलनामा झन्डै १५/२० पछि मात्र भएको कारणले व्यापार राम्रो हुँदैन कि जस्तो लागेको थियो अहिले भने विस्तारै बढ्न थालेको छ ।’

यस्तै सुन्धारा स्थित सिभिल मलमा आइसक्रिमको व्यावसाय गर्दै आएकी गंगा मगर भन्छिन्, ‘अघिल्लो वर्षको तुलनामा अहिले त व्यापार अल्लि कम नै छ गर्मी मौसमको सुरुवात बिस्तारै हुँदैछ, अब व्यापार बढ्छ ।’

बजारमा कस्ता आइसक्रिम पाइन्छन् ?

नेपाली बजारमा विभिन्न स्वाद र फ्लेवरमा धेरै थरी आइसक्रिम पाइन्छन् । त्यस्तै मुल्यमा पनि ब्राण्ड, आकार र स्वाद अनुसार भिन्नता रहेको छ ।

विशेषगरी नेपाली बजारमा भेनिला, चकलेट, स्ट्रबेरी, बटर स्कच, पेस्ता, ब्ल्याक, अलैची पेस्ता, केशर पेस्ता, कोकोनट, ट्वान्टीवन लभ जस्ता विभिन्न फ्लेवरका आईस क्रिमहरु पाइन्छन् ।

विशेषगरी भेनिला, ट्वान्टीवन लभ र चकलेट फ्लेवरका आइसक्रिमको व्यापार बढी हुने गरेको कुरा व्यवसायीहरु बताउँछन् ।

नेपाली बजारमा सामान्य कोनको आइसक्रिमको मुल्य ५० रुपैंया देखि सुरु हुन्छ । व्यावसायीहरुका अनुसार आइसक्रिम पार्लरहरुमा कोनको १०० रुपैंया हाराहारी पर्ने आइसक्रिमको माग धेरै हुने गरेको छ ।

त्यस्तै सामान्यतया बट्टामा पाइने आइसक्रिमहरु १०० मिलिलिटरको ३० देखि ५० रुपैयाँ सम्म पर्छ भने आधा लिटरको १५० देखि २०० रुपैयाँसम्म र एक लिटरको २५० रुपैयाँ देखि ४०० रुपैयाँसम्म पर्छ । ब्राण्ड र स्वादअनुसार आइसक्रिमको मूल्य फरक फरक पर्न पनि सक्छ ।

कसले बढी रुचाउँछन् ?

आइसक्रिम सबै उमेर समु्हका मानिसहरुले मन पराउने काठमाडौं मलमा विगत ३ वर्षदेखि आइसक्रिमको व्यापार गरिरहेकी व्यवसायी रेनुका शाहको अनुभव छ ।

तर, विशेषगरी केटाकेटी र युवापुस्ताले अत्यधिक रुपमा आइसक्रिम मन पराउँछन् । शाहका अनुसार उनको पसलमा गर्मी मौसममा दैनिक सरदर १५ हजारसम्मको आईसक्रिमको व्यापार हुन्छ ।

त्यस्तै अर्का एक व्यावसायीहरुका अनुसार बच्चा देखि बुढा सम्म सम्पुर्ण उमेर समुहका मानिसहरुले आईसक्रिम खाने गरेतापनि सबैभन्दा धेरै मात्रामा १३ देखि १९ वर्ष उमेरसमुहका किशोरकिशोरीले आइसक्रिम मनपराउँछन् ।

उनी आफ्नो पसलमा दैनिक करीब १० देखि १२ हजार रुपैयाँको व्यापार हुने बताउँछन् ।

अहिलेको पुस्ताले पैसा भन्दा पनि आइसक्रिमको स्वाद र गुणस्तरमा ध्यान दिने भएकाले महंगो भएपनि राम्रो उत्पादन गर्ने ब्राण्डका आइसक्रिम युवाहरुको रोजाइमा पर्ने गरेको पनि उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here