काठमाडौंमा २२ वर्षीय युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ

काठमाडौं, ९ साउन । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको नागार्जुन नगरपालिका-४, सिर्जनशील टोलमा युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) छ्यापेर भागेका रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई घटनाको २ घण्टामै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरी अपराध महाशाखाले जनाएको छ ।

युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।

बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरूले कोठातर्फ भागेका थिए।

तेजाब मुन्नाले छ्यापेका थिए । मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।

‘केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा एसिड प्रहार गर्न लगाएको बयान दिएका छन्,’एसएसपी थापाले भने,’भारतीय नागरिक आलमका कामदार हुन् ।’

एसिडले मुन्नाको हात समेत केही जलेको छ।