भदौ १ को पर्खाइमा वायुसेवा कम्पनी: गन्तव्य अनुसार भाडादर कति ?

फाइलफोटो

काठमाडौं, ९ साउन । सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सूचारु गर्ने निर्णय गरेसँगै विभिन्न वायुसेवा कम्पनीहरुले टिकट बिक्री शुरु गरेका छन् ।

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको तयारी थालेका हुन् ।

मन्त्रिपरिषदको बैठकले पर्यटन मन्त्रालयलाई हवाई उडानका लागि प्रोटोकल बनाउनका लागि निर्देशन दिएको थियो । अब सोही प्रोटोकल अनुसार हवाई उडान सूचारु हुनेछन् ।

सरकारको उक्त निर्णयसँगै निजी वायुसेवा कम्पनीहरु बुध्द एयर, यति एयरलायन्स र सिम्रिक एयरलाइन्सले वेवसाइट तथा मोबाइल एपबाट टिकट बिक्री शुरु गरिसकेका छन् ।

आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

कोभिडको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा एकतिहाई मात्र उडान हुनेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय करिब झण्डै ५०० उडान हुने अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० उडान हुने विमानस्थले जनाएको छ ।

बन्दाबन्दीमा पनि दैनिक १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको थियो । आन्तरिकतर्फ पनि बढीमा १६ उडान भएको विमानस्थलमा भदौ १ गतेपछि दैनिक दुवैतर्फ गरी ७० हाराहारी उडान हुने जनाइएको छ ।

झण्डै पाँच महिनापछि हुनलागेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्यअनुरुप भाडादर निर्धारण गरेका छन् ।

बुद्धएयरले काठमाडौँबाट भद्रपुर जानका लागि आठ हजार ६३८ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि पाँच हजार ६५९, भरतपुरका लागि तीन हजार ३४२, विराटनगरका लागि छ हजार ७१७, धनगढीका लागि रु १० हजार ९६६ भाडा कायम गरेको छ ।

त्यसैगरी जनकपुरका लागि तीन हजार ८७१, नेपालगञ्जका लागि नौ हजार ३१२, पोखराका लागि चार हजार ६३०, सिमराका लागि दुई हजार ८५२, सुर्खेतका लागि १० हजार २९२ भाडा कायम गरेको छ । कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाईसेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिसकेका छन् ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here