पूर्वमन्त्री गोविन्दराज जोशी सहित तीन नेता कांग्रेसबाट निष्कासित

काठमाडौं, १० साउन । नेपाली कांग्रेसले पार्टीका पूर्वमन्त्री गोविन्दराज जोशी लगायत तीन नेतालाई निष्कासित गरेको छ ।

कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई निष्कासित गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

कारबाहीमा परेका तीन जनासँग यसअघि स्पष्टीकरण मागिएको तर चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै कारबाही गरेको कांग्रेसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीले गत प्रतिनिधिसभा निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । उनीविरुद्धको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी नै खारेज भएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्‍नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here