निर्मला पन्त हत्या प्रकरण: एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

फाइलफोटो

काठमाडौं, १५ साउन । निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीले सफाइ पाएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले न्यायाधीश गोपालप्रसाद वाँस्तोलाको इजलासले यातना दिएको र सार्वजनिक न्यायविरुद्धको कसूरवाट प्रहरीलाई सफाइ दिएको हो ।

तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

निर्मला पन्तको बलात्कार र हत्या आरोपीको रुपमा प्रहरीले सार्वजनिक गरेका खड्कसिंह विष्टले चार जना प्रहरीविरुद्ध यातना दिएको भन्दै जाहेरी दिएपछि उनीहरूविरुद्ध मुद्दा परेको थियो । त्यस्तै मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आठ जना प्रहरी अधिकारीविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूरमा जाहेरी दिएकी थिइन् ।

दुवै मुद्दा कञ्चनपुर जिल्ला अदालतमा २२ फागुन २०७५ मा दर्ता भएका थिए । यो फैसलासँगै निलम्बित प्रहरीलाई काममा फर्कने बाटो खुलेको छ । दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो । तर बलात्कारपछि हत्यामा संलग्न व्यक्ति भने अझै पक्राउ परेका छैनन् ।

निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई पक्राउ गरेको थियो। बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारेको प्रहरीको दाबी थियो। तर निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।

निर्मला बलात्कारपछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कन्चनपुरमा आन्दोलनसमेत भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here