असार १९ बाट नेपाल एयरलाइन्स जापान उड्दै

काठमाडौं, २० वैशाख । नेपाल वायुसेवा निगमले आगामी असार १९ बाट जापानमा सिधा उडान गर्ने औपचारिक घोषणा गरेको छ । निगम ६१ औं वर्ष प्रवेशको अवसर पारी निगमले जापानमा पुनः उडान शुरु गर्ने घोषणा गरेको हो । निगमले जापानको ओसाकामा काठमाडौंबाट नियमित उडान शुरु गर्न लागेको छ ।

निगमले जापानको ओासकामा सातको तीन उडान गर्नेछ । ओसाकामा मंगलबार, बिहीबार र शनिवार उडान हुने कम्पनीले जानकारी दिएको छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उड्ने जहाज स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्ने कम्पनीले जानकारी दिएको छ ।

ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने निगमले उल्लेख गरेको छ ।

ओसाकाको सबै उडानहरु वाइड्वडी ए३३०–२०० बाट हुनेछ । यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गर्दै आएको थियो ।

तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा जापानबाट काठमाडौंका लागि सवभन्दा बढी ४१,०७० जनाले नेपाल यात्रा गरेका थिए ।

जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए । ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७,६१३ यात्रुमा सीमित भएको थियो ।

निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउनेछ ।

निगमको गृष्मकालीन तालिका अनुसार काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ ।

दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको कम्पनीले जानकारी दिएको छ ।

टोकियोको नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको छ ।
विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएकोे थियो ।

बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो । तर अवको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइड्वडी विमानबाट सिधा उडान गरिने कम्पनीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here