विकास आयोजनामा तीन सिफ्टमा काम हुने

काठमाडौं, २१ बैशाख । सरकारले विकास आयोजनामा तीनै सिफ्टमा काम गर्न प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सरकारको पूँजीगत खर्च बढाउन र आर्थिक वृद्धिलाई टेवा दिनका लागि विकास आयोजनामा निरन्तर काम हुने व्यवस्था ल्याउने व्यवस्था गरिने बताइएको छ ।

‘विकास आयोजनाहरुमा तीनै सिफ्टमा काम गर्न प्रोत्साहन गरिनेछ । विकास आयोजनाहरु तेकिएको समय, गुणस्तर र लागतमा सम्पन्न नगर्ने पदाधिकारी र निर्माण व्यवसायीलाई कानूनी कारबाहीको दायरामा ल्याइनेछ,’ राष्ट्रपति भण्डारीले भनिन् ।

विकास आयोजनामा अपेक्षित प्रगति हासिल गर्न विशेष व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘विशेष व्यवस्था गरी विकास निर्माणका काममा बाधा व्यवधान हुन दिइने छैन । विकास आयोजनाहरुको निर्णय, खरीद प्रक्रिया र ठेक्का व्यवस्थापनमा सुधार गरी पूँजीगत खर्च वृद्धि गरिनेछ,’ नीति तथा कार्यक्रमले भनेको छ ।

त्यसैगरी, तीनै तहको नीति, कार्यक्रम तथा बजेटको वार्षिक कार्ययोजनाको अनलाइन अनुगमन गर्ने प्रणालीलाई एकीकृत गर्ने पनि योजना छ । आगामी वर्षको नीति तथा कार्यक्रमले विद्यमान कार्यक्रम र आयोजनाहरु आवश्यकता, प्रभावकारिता र प्रभावको विश्लेषण गरी आवश्यकताअनुसार परिमार्जन, पुनर्संरचना वा खारेज गरिने बताएको छ ।

सार्वजनिक खरीदसम्बन्धी कानूनमा पनि सुधारको प्रतिवद्धता गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here