रत्नपत्थर प्रशोधन नेपालमै गरिने, धौबादीको फलाम खानी सञ्चालनमा आउने

काठमाडौं, २१ बैशाख । सरकारले बहुमूल्य रत्नपत्थरको प्रशोधन नेपालमै गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गर्ने योजनाले ठाउँ पाएको छ भने प्रशोधित बहुमूल्य पत्थरको निकासी प्रवद्र्धनको पनि योजना बनाइएको छ ।

हाल नेपालमा १८ कम्पनीले रत्नपत्थर उत्खननको अनुमति लिए पनि निर्यात बजारको अभावमा यस क्षेत्रमा खासै प्रगति हुन सकेको छैन । करीब पाँच वर्षअघि सरकारले ढुंगा गिट्टी र बालुवासँगै अप्रशोधित रत्नपत्थरको निकासीमा पनि प्रतिवन्ध लगाएको थियो ।

नीति तथा कार्यक्रममा यस क्षेत्रको विकासको योजना अघि सारेर सरकारले व्यवसायीलाई केही राहत दिएको छ । खानी तथा भूगर्भ विभागले सरकारलाई निकासी खोल्ने भन्दा पनि नेपालमै प्रशोधन कारखाना स्थापना गर्न सुझाव दिएको थियो ।

त्यसैगरी, कर्णाली सरकारले प्रदेश राजधानी सुर्खेतमा केन्द्र सरकारसँगको सहकार्यमा रत्नपत्थर प्रशोधन कारखाना स्थापना गर्ने योजना ल्याएको छ ।

यसका साथै सरकारले आगामी आवदेखि नवलपरासीको धौबादीमा रहेको फलाम खानीबाट ब्यावसायिक उत्पादन शुरु गर्ने भएको छ भने दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा संभाव्य स्थानमा सुन खानी उत्खननका लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने योजना घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here