सेनाले थाल्यो चक्रवात पीडितको घर निर्माण, तीन महिनामा बनाइसक्ने योजना

काठमाडौं, २१ बैशाख । नेपाली सेनाले बारा र पर्साका चक्रवात पीडिका लागि आवास निर्माण शुरु गरेको छ ।
घर निर्माणको शुभारम्भ गर्ने कार्यक्रममा मन्त्रीहरुको लर्को लागेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, अन्य मन्त्रीहरु र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आवास निर्माण कार्यक्रमको सनिवार शिलान्यास गरे ।

‘जनता आवास’ कार्यक्रमको फेटा गाउँपालिका – ६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेल, परवानीपुर – ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, प्रसौनी गाउँपालिका – ४ खटुवाजग्दीमा गृहमन्त्री राम बहादुर थापा, बीरगञ्ज महानगरपालिका – २२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, सुवर्ण गाउँपालिका – ४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र पचरौता नगरपालिका – ७ बेनौलीमा संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिलान्यास गरेका थिए ।

त्यसैगरी फेटा गाउँपालिका – ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, बीरगञ्ज महानगरपालिका – ५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगर, फेटा गाउँपालिका – ४ भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, महागढीमाई नगरपालिका – ७ तेलगाईमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्याल, कलैया उपमहानगरपालिका – १३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका – ७ रामपुर्वामा प्रदेश २ का मुख्यमन्त्री राउतले निर्माणाधीन घरहरुको शिलान्यास गरेका थिए ।

सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुसार सेनाले काम थालेको हो ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १,३६२ घर गरी जम्मा १,४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरुलगायत हाल २,३३२ जना दक्ष जनशक्ति परिचालित भईरहेका छन् ।

तीन चरणमा सम्पन्न गरिने सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घरहरु जेष्ठ २६ गते भित्र, दोस्रो चरणमा ४८२ घरहरु आषाढ २८ गते भित्र र तेस्रो चरणमा ४८९ घरहरु श्रावण ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको सेनाले जनाएको छ ।

निर्माणाधिन घरहरुको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानिय स्तरमा पूनर्स्थापना तथा घर पूनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन भएको छ ।

मुख्यमन्त्री राउतले निर्माण कार्यको लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here