भारतीय धनाढ्यको लगानी कुन देशमा बढी ? नेपालमा कति आउँछ भारतीय एफडीआई ?

काठमाडौं, २२ वैशाख । विश्वभरका लगानीकर्ताका लागि अहिले भारत सबैभन्दा आकर्षक देश हो । किनकी एकातर्फ ठूलो बजार यहाँ छ भने भारतले विदेशी लगानी आकर्षित गर्न धेरै कानूनहरुलाई लगानीमैत्री पनि बनाएको छ ।

तर, भारतकै धनाढ्यहरु भने अहिले विश्वभर लगानी फैलाएर आफ्नो साम्राज्य फैलाउने क्रममा छन् । गत शुक्रबार लण्डनका मेयरको प्रचार विभागले एक विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय धनाढ्यका नजरमा सबैभन्दा आकर्षक शहर लण्डन हो । प्रतिवेदन अनुसार सन् २०१८ मा लण्डनमा भारतीय प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) सबैभन्दा धेरै भित्रिएको छ ।

प्रतिवेदन अनुसार बेलायतमा भारतीय लगानीकर्ताले ५२ वटा ठूला परियोजनामा लगानी गरेका छन् । त्यसैगरी भारतीय लगानीकर्ताका लागि दोस्रो आकर्षक मुलुक अमेरिका हो ।

प्रतिवेदन अनुसार अमेरिकामा ५१ ठूला परियोजनामा भारतीयले लगानी गरेका छन् । तेस्रो स्थानमा संयुक्त अरव इमिरेट्समा ३२ परियोजनामा भारतीय धनाढ्यको लगानी छ । प्रतिवेदन अनुसार भारतीयले सन् २०१८ मा मात्र लण्डनमा लगानीका ३२ परियोजना पेश गरेका छन् ।

लण्डनमा भारतीयले एक परियोजनामा औसतः ६० प्रतिशतभन्दा बढी लगानी गरेका छन् । सन् २०१७ को तुलनामा लण्डनमा मात्र २५५ प्रतिशत बढी भारतीय एफडीआई भित्रिएको तथ्यांक छ ।

विश्वका ठूला र धनी मुलुकमा गइरहेको भारतीय लगानी नेपालमा भने अत्यन्त कम छ । उद्योग विभागका अनुसार नेपालमा भारतीयहरु प्रत्यक्ष वैदेशिक लगानीका लागि उद्योग दर्ता त गर्छन्, तर त्यो वास्तविक लगानीमा निकै कम मात्र परिणत भएको छ ।

तथ्यांकअनुसार नेपालमा औसतः केवल ९ अर्ब हाराहारी मात्र भारतीय लगानी भित्रन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here