नेपाली झण्डा जलाइएको आपत्तिजनक र्‍याप गीत युट्युवमा

काठमाडौं । नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक भएको छ ।

राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत ‘देशद्रोही’ शीर्षकको ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो ।

र्‍याप गीतमा नेपाली राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्यको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

उक्त गीत सार्वजनिक भएसँगै राष्ट्रिय झण्डा र टोपी जलाउनेलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठेको छ।

गीतका शब्दमा झण्डा र टोपीलाई अपमानजन शब्दहरु पनि प्रयोग भएका छन्। गीतमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ भने ढाका टोपीलाई कण्डोम भनिएको छ।

‘गीतको भिडियोमा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा झण्डा प्रयोग गरिएको छ।

गीतको सुरुवातमा नै बाहुन–क्षेत्रीलाई शरणार्थी भन्दै गाली गरिएको छ। भारतबाट राजा अकबरले लखेटेर नेपाल आएका शरणार्थी बाहुन–क्षेत्री भन्ने शब्द गीतमा प्रयोग भएको छ।

साथै गीतमा पृथ्वीनारायण शाह, ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवालगायत नेताहरुको तस्बिरसमेत जलाइएको छ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ। मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ।

उक्त दफामा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुनेः

(१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here