‘मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघलाई अनुरोध गर्ने तयारीमा सरकार

काठमाडौं, ३ भदौ । सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापी रुपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भईरहेको बताएका हुन् ।

बुधबार आयोजित मर्यादित महिनावारीसम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा पनि गरे ।

त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

सरकारले छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको छ । यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको छ ।

‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सरकार लागि परेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थाहरुलाई आह्वान गर्दछु ।’

सो अवसरमा मन्त्री गुरुङले समाजमा विद्यमान लैगिंक विभेद अन्त्यका लागि ‘लैगिक मैत्री नीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको बताएको पनि उनको सचिवालयले जानकारी दिएको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता राधा पौडेल, पशुपति कुँवरलगायतले छाउँगोठ जस्ता सामाजिक कुरीतिको अन्त्यका लागि मर्यादित महिनावारीको कामलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र कार्यविधि बनाउने काम सुरु भएकोमा खुशी जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here