संसारका सबैभन्दा महङ्गा १० विलासी कार, एउटैको मुल्य डेढ अर्बसम्म

काठमाडाैं, २२ बैशाख । केहि समयअघिसम्म कारलाई विलासी साधनको रुपमा लिइन्थ्यो । उच्च आर्थिक हैसियतका मानिसले मात्रै कार चढ्ने सामथ्र्य राख्थे तर अहिले यो स्थितीमा परिवर्तन आएको छ ।

कामको सिलसिलामा धेरै यात्रा गर्नुपर्ने मानिसहरुको लागि कार चढ्नु सोख मात्रै नभइ बाध्यता हुन थालेको छ । आजभोली मध्यम वर्गिय परिवारले पनि सजिलै कार किनेर चढ्न सक्छन् ।

कार भन्ने वित्तिकै मानिसहरुलाई लुक्स र इन्जिनको क्षमतामा मानिसहरुको ध्यान जान्छ । सबैले कार चढ्न सक्ने अहिलेको युगमा विभिन्न थरी कार उत्पादक बीच कसले राम्रो र उत्कृष्ट कार बनाउने भन्ने प्रतिस्पर्धा नै चल्न थालेको छ ।

कार कम्पनीहरुले उच्च आर्थिक हैसियत भएका कारका सौखिनहरुको लागि विशिष्ट सुविधा र विशेषता भएका सुपर कारहरु उत्पादन गर्न थालेका छन् ।

सामान्य कारहरु भन्दा यस्ता विलासी कारहरु कम संख्यामा उत्पादन र बिक्रि हुुने भएपनि यस्ता कारले गाडीको सौखिन सबैको ध्यान तान्ने गर्छन् ।

संसारमा केहि यस्ता कम्पनीहरु छन् जुन महंगा र विलासी कारहरु बनाउनमा प्रख्यात छन् । ती कम्पनीले बजारमा ल्याएका केहि कारको मुल्य हामीले कल्पना गर्नेभन्दा पनि धेरै रहेको छ ।

संसारमा उपलब्ध धेरै कारहरु मध्ये सबैभन्दा महंगा १० कारहरुको मूल्य कम्तीमा २७ लाख अमेरिकी डलरबाट सुरुवात भई १ करोड ३० लाख अमेरिकी डलरसम्म रहेको छ । १ करोड ३० लाख डलर नेपालीमा रुपमान्तरण गर्दा झण्डै १ अर्ब ४३ करोड अर्थात झण्डै डेढ अर्ब रुपैयाँ हुन आँउछ ।

यस्ता कारहरु सीमित रुपमा मात्र बन्ने गर्दछन् र यसका ग्राहकहरु पनि सीमित हुने गर्छन् ।

यी हुन् संसारका सबैभन्दा महङ्गा १० कार

१०. बुगाटि चिरोन

बुगाटि चिरोन सुपरकार सन् २०१७ मा बजारमा उपलब्ध भएको हो । ८.० लिटरको १५ सय हर्सपावर इन्जिनयुक्त कारको अधिकतम् स्पिड २६१ माइल प्रति घण्टा रहेको छ । यसको मूल्य २७ लाख अमेरिकी डलर कायम गरिएको छ ।

९. पगानि हुवायरा बिसी

सन् २०१२ मा बजारमा आएको पगानि हुवायरा कारमा ६.० लिटरको ७९० हर्सपावरयुक्त इन्जिन रहेको छ । २८ लाख अमेरिकी डलर मूल्य रहेको यस कारको स्पिड भने २३० माइल प्रतिघण्टा रहेको छ ।

८. फरारी पिनिनफारिना सर्जियो

सन् २०१२ मा बजारमा आएको यस कारको मूल्य ३ लाख डलर रहेको छ । जसमा ५ सय ७० हर्सपावर युक्त ४.५ लिटरको ईन्जिन र १ सय ९८ माइल प्रतिघण्टाको स्पिड रहेको यो कार अहिलेसम्म ६ वटा मात्रै बनेको छ ।

७. एस्टोन मार्टिन भ्याल्करी

३२ लाख अमेरिकी डलर मुल्य रहेको यो कार सन् २०१८ मा बजारमा आएको हो ।

१ हजार हर्सपावर युक्त ६.५ लिटरको ईन्जिन रहेको यस कारको अधिकतम स्पिड भने २५० माइल प्रतिघण्टा रहेको छ ।

६. लिमिटेड एडिसन बुगाटी भेरोन

बुगाटीले सन् २००५ मा बजारमा ल्याएको यस कारको मूल्य ३४ लाख अमेरिकी डलर रहेको छ । यस कारमा १२ सय हर्सपावरयुक्त ८.० लिटरको इन्जिन जडित छ । यसको अधिकतम गति २ सय ५३ माइल प्रतिघण्टाको रहेको छ ।

५. लाइकन हाइपर स्पोर्ट

सन् २०१३ मा बजारमा आएको यस कारको मूल्य पनि ३४ लाख डलर रहेको छ । ७ सय ८० हर्सपावर क्षमताको ३.७ लिटरको ईन्जिन रहेको यस कारले अधिकतम २ सय ४० माइल प्रतिघण्टासम्म गति प्रदान गर्छ । यो कारलाई हलिउडको चर्चित फिल्म ‘फ्युरियस ७’ मा पनि देखाइएको छ ।

४. म्याकलरेन पिवान एलएम

३६ लाख अमेरिकी डलर मूल्य रहेको यो कार सन् २०१३ मा बजारमा आएको हो । १ हजार हर्सपावर क्षमताको ३.८ लिटरको ईन्जिन युक्त यस कारको अधिकतम गति १ सय ४७ माइल प्रतिघण्टा रहेको छ ।

३. ल्याम्बोर्गिनी भेनेनो रोड्स्टर

सन् २०१३ मा बजारमा आएको यस कारको मूल्य ४५ लाख डलर रहेको छ । ६.५ लिटरको ७ सय ४० हर्सपावर युक्त इन्जिन रहेको यो कार अधिकतम २ सय २१ माइल प्रतिघण्टाको गतिमा कुद्न सक्छ ।

२. कोइनीग्सेग सीसीएक्सआर ट्रेभिटा

हिरा जडित यो कारको मुल्य ४८ लाख डलर रहेको छ । सन् २००६ मा बजारमा आएको यस कारमा १ हजार ४ हर्सपावर ४.७ लिटरको इन्जिन जडान गरिएको छ । यसको अधिकतम स्पिड २ सय ५४ माइल प्रतिघण्टा रहेको छ ।

१. रोल्स रोयस स्वेपटेल

ग्राहकको विशेष आग्रहमा रोल्सरोयसले सन् २०१७ मा एक पिस मात्रै बनाएको यो कारको मुल्य १ करोड ३० लाख अमेरिकी डलर कायम गरिएको छ । विशेष तरिकाले डिजाइन गरिएको यो कारमा दुई जनामात्रै बस्न मिल्छ ।

कारमा ४ सय ५३ हर्सपावरयुक्त ६.७५ लिटरको इन्जिन रहेको छ । यसको अधिकतम स्पिड १५० माइल प्रतिघण्टा रहेको छ ।

 

एजेन्सीको सहयोगमा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here