क्यारेबियन प्रिमियर लिग: ट्रिन्बागोसँग जमैका पराजित, सन्दीपले लिए एक विकेट

काठमाडौं, ५ भदौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली जमैका तल्लावाज दोस्रो खेलमा पराजित भएको छ।

नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा सन्दीपको जमैका ट्रिन्बागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो। चार ओभर बलिङ गरेकामा सन्दीपले ३० रन खर्चेर एक विकेट लिए।

ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको तलावाजले २० ओभरमा ८ विकेट गुमाएर एकसय ३६ रन बनाएको थियो ।

उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा धेरै ५८ रन बनाए । दशाैं नम्बरमा ब्याटिङमा आएका सन्दीपले एक बल पनि खेल्न पाएनन् ।

१३७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ट्रिन्बागोले १८.१ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनायो।

सन्दीपले ट्रिन्बागोका लागि ३७ बलमा सात चौका र दुई छक्कासहित ५३ रन बनाएका सुनील नारायणलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच आउट गराएका हुन्।

बुधबार भएको सेन्ट लुसिया जोक्सविरुद्धको पहिलो खेलमा पनि सन्दीपले ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए। सन्दीपको टिम पहिलो खेलमा भने विजयी भएको थियो ।

जितसँगै ट्रिन्बागो दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानका गुयना अमेजन वारियर्स, तेस्रो स्थानको सेन्ट लुसिया र तेस्रो स्थानको जमैकाको समान दुई/ दुई अंक छ।

यस सिजन सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ ।