रुसमा धावनमार्गमै जहाजमा आगो, ४१ को ज्यान गयो

मस्को, २३ वैशाख । रुसको मस्कोमा एक यात्रुबाहक जहाजमा आगो लाग्दा ४१ जनाले ज्यान गुमाएका छन् । सोमबार बिहान रुसको राजधानी मस्कोस्थित शेरेमेत्येवो विमानस्थलमा आपतकालिन अवतरणका क्रममा इन्जिनमा आगोलागी भएपछि ठूलो संख्यामा यात्रुको निधन भएको हो ।

अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सरकारी वायुसेवा कम्पनी एरोलफ्टको सुपरजेट—१०० जहाज ७८ जना यात्रु बोकेर शेरेमेत्येवोबाट रुसकै मरमन्स्क शहरका लागि उडेको थियो ।

उडेको आधा घण्टा भित्रै जहाजमा प्राविधिक गडबडी भएको संकेत पाइलटले टावरलाई गराएका थिए । त्यसपछि जहाजलाई शेरेमेत्येवो विमानस्थलमै फर्काइयो ।

एरोलफ्ट कम्पनीको आधिकारिक स्टेटमेन्टका अनुसार यस जहाजले पहिलो पटक गरेको आपतकालिन अवतरणको प्रयास सफल भएको थिएन् ।

जब दोस्रो प्रयासमा आपतकालिन अवतरण गर्यो, त्यसपछि धावनमार्गमै इन्जिनमा आगो उठेको थियो । विमानस्थलका अधिकारीहरु आगो लागेको ५५ सेकेण्ड भित्रै आपतकालिन उद्दारमा जुटिसकेको बताउँछन् ।

त्यसक्रममा ४१ जनाले ज्यान गुमाएका छन् भने ३७ जना बच्न सफल भएका छन् ।

निधन हुने मध्ये एक बच्चा र एक चालक दलका सदस्य समेत भएको बताइएको छ । जहाजमा ५ जना चालक दलका सदस्य थिए ।

घटनापछि रुसी राष्टपति भ्लादिमिर पुटिनले दूर्घटनामा निधन हुने यात्रुका परिवारप्रति सम्वेदना जनाएका छन् । जहाजमा प्राविधिक खरावी आएपछि यात्रुको ज्यान जोगाउन चालक दलले शाहसिक काम गरेको कम्पनीले उल्लेख गरेको छ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here