रिलायन्स लाइफको आईपीओ बाँडफाँड, २० हजार ५ सय आवेदकको हात खाली

काठमाडौं, ११ भदौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार दिउँसो आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता सेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

उक्त आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएको थिए । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको सेयर पाएका हुन् ।

जसमा २० हजार ५ सय ९ जना खाली भएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

रिलायन्सको आइपीओ भदौ ४ गते निश्कासन भई ८ गते बन्द भएको थियो । यो कम्पनीको आइपीओमा मागभन्दा ४:०४ गुणा बढी आवेदन परेको थियो ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । ६३ करोडको आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here