तराईका सेजको संभाव्यता अध्ययनका लागि परामर्शदाता छानिए, काम चाँडै थालिने

भैरहवा सेज

काठमाडौं, २४ बैशाख । सरकारले तराईका पाँच स्थानमा विशेष आर्थिक क्षेत्र (सेज)को संभाव्यता अध्ययन थाल्ने तयारी गरेको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले सप्तरी, सर्लाही, रौतहट र बर्दियामा संंभाव्यता अध्ययन र महोत्तरीमा पूर्वसंभाव्यता अध्ययन थाल्नका लागि परामर्शदाता चयन गरेको जानकारी दिएको छ ।

प्राधिकरणले मंगलबार एक एक सूचना प्रकाशित गरी पाँचै स्थानका लागि परामर्शदाता चयन गरेको जानकारी दिएको हो । माग गरेको प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने मध्ये उत्कृष्ट पाँच संयुक्त उपक्रम (ज्वाइण्ट भेञ्चर) कम्पनीको छनोट गरेको उसले बताएको छ ।

सूचनाअनुसार सप्तरीको सेजको संभाव्यता अध्ययनका लागि राजदेवी इञ्जिनियरिङ कन्सल्ट्यान्ट र एभर्नल इन्फ्राष्ट्रक्चरको जेभीलाई छानिएको छ भने सर्लाहीका लागि ग्रिड कन्सल्ट्यान्ट, दिक्षा कन्सल्टिङ र ईसीएन कन्सल्ट्यान्सीको जेभी चयन गरिएको छ ।

त्यसैगरी, रौतहट र बर्दियाको सेजको संभाव्यता अनि महोत्तरीको सेजको पूर्वसंभाव्यता अध्ययनका लागि पनि ग्रिड, दिक्षा र ईसीएन नै छानिएको छ । प्राधिकरणका अनुसार चाँडै नै ती पाँच स्थानमा अध्ययन थालिने छ ।

अर्कातर्फ, निर्माण भएको लामो समय भइसक्दा पनि भैरहवा सेजमा अपेक्षित रुपमा उद्योगहरु आकर्षित हुन सकेका छैनन् । तर, अब बिजुलीको नियमित र भरपर्दो आपूर्तिको व्यवस्था र स्वदेशमा बिक्री गर्न पाउने उत्पादनको मात्रा बढाए पछि उद्योगहरु आउने क्रम बढेको भैरहवा सेजले बताएको छ ।

सरकारले सातै विकास क्षेत्रमा एकएक ओटा सेज स्थापना गर्ने बताएको छ । त्यसका लागि प्रदेश १ को विराटनगर, २ को सिमरा, ३ को पाँचखाल, गण्डकीको गोर्खा, कर्णालीको जुम्ला र सुदूरपश्चिमको धनगढी छानिएको छ । प्रदेश ५ का लागि भने भैरहवा सेज निर्माण भएर सञ्चालनमा आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here