रातो मत्स्येन्द्रनाथको रथयात्रा दिउँसो ३ बजे, यसरी तानिँदैछ रथ

फाइलफोटो

काठमाडौं, २१ भदौ । रातो मत्स्येन्द्रनाथको रथयात्रा आइतबार दिउँसो ३ बजे हुने भएको छ।

बिहीबार पुल्चोकबाट तानेर करिब ५ मिटर टाढा पुर्‍याउँदा रथ तान्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएसँगै रोकिएको रथयात्रा दिउँसो हुन लागेको हो ।

स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको हो । अहिले गा बहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ।

दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

यससँगै रथलाई​ साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आइतबार छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् ।

विगतका वर्षहरुमा रथलाई जुन जुन ठाउँमा विश्राम गराइयो त्यस क्षेत्रका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा थियो ।

यसपालि साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका छन् ।

रथ तान्नको लागि दिउँसो ३ बजे गा बहालमा भेला हुनेछन् । रथ तान्नेहरुको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ।

विभिन्न जातीय समूहको तर्फबाट १२४ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।

सोमबार भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान लगिनेछ ।

यसैसँगै २०७७ सालको रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुनेछ। झडपपछि सरोकारवाला निकाय र गुठी खलस् हरुको संयुक्त बैठकले रातो मत्स्येन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो।

कोरोना महामारीका कारण रथयात्रा सम्पन्न गर्न नसकेको भन्दै शुक्रवार रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here