स्रोतले धान्ने गरी मात्र बजेटमा लोकप्रिय कार्यक्रम समेटिन्छन : अर्थमन्त्री

काठमाडौं, २५ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आर्थिक स्रोतले धान्न सक्ने गरी मात्र लोकप्रिय कार्यक्रम समेटिने बताएका छन् ।

व्यवस्थापिका संसदको अर्थ समितिको बुधबारको वैठकमा बोल्दै उनले स्रोतले धान्न नसक्ने गरि कुनै पपुलिस्ट कार्यक्रम न आउने स्पष्ट पारेका छन् । उनका अनुसार आगामी आर्थिक वर्षको बजेटले दिगो आर्थिक बिकास र समृद्धिलाई प्राथमिकता दिने छ ।

‘बजेट अर्थराजनीतिक दस्ताबेज हो तर पर्याप्त वित्तीय स्रोत विना कुनै पनि कार्यक्रम कार्यान्वयनमा समस्या आउनेमा हामी स्पष्ट छौं,’ उनले भने ।

बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनितीक नारा र आर्थिक यथार्थको तालमेल मिलाएर मात्र बजेट ल्याउनु पर्ने सुझाव दिएका थिए । ‘बरु अलोकप्रिय हुनुस् तर यथार्थपरका बजेट ल्याउनुस् । सरकारको नीति तथा कार्यक्रम बढी राजनीतिक देखिएको छ, बजेटले त्यसलाई सन्तुलित बनाउनुस्,’ उनले सुझाव दिए ।

त्यसैगरी, पूर्व अर्थमन्त्री सुरेन्द्र पान्डेले आकाश र जमीनमा व्यक्तिको हक कति हदसम्म लागु हुन्छ भन्ने बारे स्पष्ट नीति ल्याउन सुझाव दिएका छन् ।

यसैबिच, अर्थ समितिले प्रदेश तहमा पुगि संकलन गरेको सुझावको प्रारम्भिक प्रतिवेदन अर्थमन्त्री समक्ष प्रस्तुत गरेको छ ।
स्थानीय र प्रदेश सरकारले खासगरी कर्मचारी व्यवस्थापन, सार्वजनिक खरीद ऐनमा संशोधन, परियोजनाको वर्गीकरणमा केन्द्र सरकारले धेरै काम गर्नु पर्ने सुझाव दिएका छन् ।

अर्थ समितिले बिहीबार केन्द्रस्तरमा समेत बजेट बारे वृहद छलफल गरी अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिले बैशाखको पहिलो साताबाट सात वटै प्रदेशमा पुगि पूर्व बजेट छलफल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here