नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तारबारे महासंघ र महावाणिज्यदूतवीच छलफल

काठमाडौं, २३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत उदय रानामगरले नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

सोमबार भएको भेटमा उनीहरुले नेपाल र हङकङ बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन तथा हङकङमा नेपाली वस्तुको प्रवद्र्धनमा विशेष जोड दिएको महासंघले बताएको छ ।

रानामगर हालैमात्र हङकङ तथा मकाओका लागि नेपाली महावाणिज्यदूतमा नियुक्त भएका हुन् ।

अध्यक्ष राणाले द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा महावाणिज्यदूतावासले गर्ने सबै प्रयासमा नेपाली निजी क्षेत्रले सहयोग गर्ने विश्वास दिलाइन् ।
यसका लागि महासंघ निरन्तर सम्पर्कमा रही रहने पनि उनको भनाइ थियो ।
कोभिडका कारण अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएकाले मुलुकभित्र वाह्य लगानी तथा प्रविधि आकर्षणमा नेपाली कुटनीतिक नियोगहरूले आआफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने राणाको सुझाव छ ।
नवनियुक्त महावाणिज्यदूत रानामगरले महासंघसंगको भेटवार्ता अत्यन्त महत्वपूर्ण भएको बताउँदै आफनो कार्यकालमा द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, निजी क्षेत्र–निजी क्षेत्र बीचको सम्पर्क विस्तारलाई जोड दिने र निजी क्षेत्रसंग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाए ।

सो अवसरमा महासंघको प्रदेश नम्वर ५ का अध्यक्ष गुणनिधी तिवारी, महासंघको रोजगारदाता परिषद्का सहसभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्यहरू डीवी बस्नेत, बिनोद ढकाल, सुनिल गोपाल श्रेष्ठ र रंजितराज आचार्य, महासंघ सचिवालयका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।

सम्बन्धितः

जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

उद्योग वाणिज्य महासंघको चुनावका लागि तीन मोडल, प्रत्यक्षदेखि ई–भोटिङसम्म प्रस्ताव

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो, अब कहिले ?

महासंघको निर्वाचन: पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म ध्रुविकृत, को कसको पक्षमा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here