पर्यटन प्रवद्र्धनमा प्रदेश नं ५ को योजना: ‘लुम्बिनी भ्रमण वर्ष २०७६’

काठमाडौं, २५ बैशाख । प्रदेश नं ५ ले पर्यटन प्रवद्र्धनको लागि लुम्बिनी भ्रमण वर्ष सञ्चालन गर्ने भएको छ ।

नेपाल सरकारले मनाउने घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को आधारको लुम्बिनी भ्रमण वर्ष २०७६ सञ्चालन गर्ने प्रदेश सरकारले घोषणा गरेको हो ।

प्रदेश सरकारले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं शान्तिको सन्देश फैलाऔं’ भन्ने मुल नारा सहित भ्रमण वर्ष सञ्चालन गरिने बताइएको छ ।

भ्रमण वर्षको शुभारम्भ जेठ ४ गते बुद्ध जयन्तीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी भ्रमण वर्षमा लुम्बिनी क्षेत्रको मात्र नभई वरिपरि रहेका तर छायाँमा परेका प्राकृतिक र साँस्कृतिक सम्पदाहरुको पनि प्रचार गरिने कुरा प्रदेश नं ५ का मुख्यन्त्री शंकर पोख्रेलले बताए ।

लुम्बिनी भ्रमण वर्षलाई देशभर प्रचारप्रसार गर्नको लागि ‘रोड शो’ कार्यक्रमको सुरुवात गरिएको पनि मुख्यमन्त्री पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी भ्रमण वर्षबाट नेपाल भ्रमण वर्षको आधार निर्माण हुने पनि बताए ।

भ्रमण वर्ष अवधिभर २० देखि २५ लाख सम्म पर्यटकहरुले लुम्बिनी क्षेत्रको भ्रमण गर्ने प्रदेश सरकारको दाबी छ । त्यसको लागि प्रदेश सरकारबाट ४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको पनि मुख्यमन्त्री पोखरेलले बताए।

लुम्बिनीलाई ‘ग्रेटर लुम्बिनी’को रुपमा विकास गर्दै यस क्षेत्रलाई विश्वका बौद्धमार्गीहरुको आकर्षक गन्तब्यको रुपमा विकास प्रदेश सरकार लागिपरेको उनले बताए ।

‘चर्चामा आएका सम्पदाहरुको मात्रै होइन ऐतिहासिक र महत्वपुर्ण तर ओझेलमा परेका सम्पदाहरुको पनि प्रचारप्रसार र संरक्षण गर्नुपर्छ,’ मुख्यमन्त्री पोखरेलले भने ।

भारतको बाटो हुँदै लुम्बिनी आउने पर्यटकहरुबाट नेपाललाई कुनै फाईदा नहुने भएकाले यो कार्यलाई रोकी नेपालकै बाटो हुँदै लुम्बिनी आउने वातावरणको निर्माण गर्ने पनि मन्त्री पोख्रेलले बताए ।

त्यस्तै, प्रदेश नं ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गरिने बताए ।

भ्रमण वर्षमा लुम्बिनी क्षेत्रहरुको मात्रै प्रचारप्रसार नगरी अन्य महत्त्वपुर्ण क्षेत्रहरु तिलौराकोट, गोटीहवा, अरौराकोट, रामग्राम आदि सम्पदाहरुको पनि चर्चा र प्रचारप्रसार गरिने बताईएको छ ।

त्यस्तै लुम्बिनी भ्रमण वर्षको प्रचार गर्ने उद्देश्यले बुद्धको मुर्ती राखेर सुरु गरिएको ‘रोड शो’ भैरहवाबाट सुरु भै स्याङ्जा, पोखरा हुँदै काठमाडौं आइपुगेको छ ।

रोडशो नेपालका विभिन्न शहरमा सम्पन्न भए पछि भारतका विभिन्न शहरहरुमा पनि गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here