डाटा उपभोगको प्रवृत्तिमा परिवर्तन, कन्टेण्टमा लगानी बढाउन विज्ञको सुझाव

काठमाडौं, २५ भदौ । दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवाला पक्षले बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भुमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तत्र्रिmयामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।

लकडाउनकै समयमा पनि अपवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइवर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई शिक्षा प्याकेजमा प्राधिकरणले काम गरेको उनले बताए ।

कोभिडका समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएको उनको अनुभव छ ।

कोभिडका कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिटीकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंका समेत बढेको छ ।

ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा केनेक्टिभी र कनेन्ट दबैको अवस्था दयनीय भएको बताए ।

ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलीका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठुलो रुप लिने हुँदा सचेत हुन पनि उनले आग्रह गरे ।

नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेकमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेन्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए ।

धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्छन् जहाँ अप्ठेरो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

उनले कोषको रकम ग्रामिण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए ।

हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ । ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए ।

डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरु ल्याउने तयारी गरेको उनले जानकारी दिए । पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत उनले दिए ।

उनको कोभिडका समयमा सरकारसंग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलव्ध गराएको बताए ।

व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत स्कुलशिक्षा, स्वाथ्य सामाग्रि, कोभिड सम्वन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिमकार्ड वितरण लगायतका कार्यहरु गरेको उनको भनाइ छ ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म बृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताउँछन् ।
पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदयाकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धौ धौ परेको भन्दै यसमा केहि सोच्न पनि नियामक निकायसमक्ष उनले आग्रह गरे ।

यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा भनौं नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिहरेको र छिट्टै केही ठोस निर्णय लिने बताए ।

सम्बन्धितः

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

गुणस्तरीय इन्टरनेट सेवा विस्तार मूख्य प्राथमिकतामा राख्न निर्देशन

इन्टरनेट प्रयोगकर्ता २ करोड १५ लाख नाघे, टेलिकमको हिस्सा ४९ प्रतिशत

लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेटको प्रयोग धेरै, युट्यूब प्रयोगकर्ता ७५.६ प्रतिशत वृद्धि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here