भारतमा कोरोना संक्रमितको संख्या दैनिक १ लाख नजिक

काठमाडौं, २६ भदौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र गतिमा फैलिएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा दैनिक एक लाखको हाराहारीमा संक्रमित थपिन थालेका छन् ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड पनि तोडिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वमा गएको २४ घण्टामा दुई लाख ९७ हजार नौ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १३ हजारभन्दा धेरै भएको छ ।

संक्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३ लाखभन्दा धेरै निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here