नेपाल एयरलाइन्सको विमानमा भियतनाम उडे प्रधानमन्त्री, कम्बाेडिया पनि जाने

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली ७ दिने विदेश भ्रमणको लागि भियतनाम उडेका छन् । उनी त्यतैबाट कम्बाेडिया पनि जानेछन् ।

बिहीबार बिहान ११ बजे नेपाल वायुसेवा निगमको एयरबस ए ३२० न्यारोबडीको चार्टड उडानमा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतका मन्त्रीहरु तथा सभामुख कृष्णबहादुर महराले बिदाई गरे ।

उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजनभट्टराई लगायतका प्रतिनिधि पनि प्रधानमन्त्रीसँगै उडेका छन् ।

भियतनामका प्रधानमन्त्री सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निम्तोमा उनी दुई देशको भ्रमणमा जान लागेका हुन ।

भ्रमणमा के के गर्नेछन् ?

प्रधानमन्त्री ओलीले सुरुमा ५ दिनसम्म भियतनामको भ्रमण गर्नेछन् । त्यहाँ उनलेसमकक्षी फुक र नेशनल एसेम्बेलीका अध्यक्षसँग भेटवार्ता गर्नेछन ।

युद्धमा ध्वस्त भएको भियतनामले पछिल्ला दशकमा गरेको अभूतपूर्व प्रगति हेर्न र त्यसबाट नेपालका लागि उपयुक्त मोडल सिक्नका लागि प्रधानमन्त्री भियतनाम जान लागेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

‘गएको तीस वर्षमा भियतनामले गरेको प्रगति हेर्नु र त्यो मुलुक कसरी लगानीको आकर्षक गन्तव्य बन्यो त्यो हेर्नु यो भ्रमणको मुख्य उद्देश्य हो । युद्धको बिभिषिकाबाट निस्केर भियताम कसरी आर्थिक शक्तिकेन्द्र बन्यो, त्यसबाट हामीले पनि पाठ सिक्न सक्छौं,’ परराष्ट्र मन्त्री ज्ञवालीले सञ्चारकर्मीहरूसँग भने।

भियनतामको ५ दिने भ्रमण पछि बैशाख ३० गते उनी कम्बोडिया प्रस्थान गर्नेछन् । कम्बोडियामा तीन दिन रहदाँ उनले समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here