खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त

काठमाडौं, २७ भदौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

विभागका महानिर्देशक सुनिलकुमार दास खानेपानी मन्त्रालय सरुवा भएसँगै विभागको महानिर्देशकमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

नेपालभित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो ।

वरिष्ठताका आधारमा पनि अगाडि रहेकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ । वि.सं. २०५३ देखि सरकारी सेवामा रहेकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुन।

नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरिन्।

२०६६ साल चैत १२ गते लिखित परीक्षाबाटै बिल्डिङ एन्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here