कोरोनाले विदेशमा थप ४३ नेपालीको ज्यान लियो, साउदीमा मात्रै ५२ जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, २८ भदौ । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।

गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।

यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । यो सँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए ।

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

यस्तै नेपालमा मात्र ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ३७ हजार ५ सय जना कोरोना मुक्त भएका छन् ।

यो कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । हालसम्म नेपालमा ३ सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको छ ।

यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत रहेको छ ।

यसैबीच कोरोनाभाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।

हालसम्म ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ ।

सम्बन्धितः

देशभर ठूला शहरमा फैंलदैछ कोरोना

उपत्यकामा पाँचसहित थप १४ जना कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ९७ हजार थपिए

‘फुटपाथ र ठेला पसल खोले कोरोना नियन्त्रणबाहिर जान्छ’- महानगर

कोरोना महामारीका बीचमै, दशैंले पनि रोक्न सकेन मुग्लान पस्ने ‘लाहुरे’ लाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here