नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’ बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा छनोट

काठमाडौं, १ असोज । यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा अर्को नेपाली फिल्म पनि छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसानको ‘एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो ।

बुसानले चार दिन अघि सार्वजनिक गरेको छनोट सूचीमा मुख्य प्रतिस्पर्धामा सुजित बिडारीको नेपाली फिचर ‘ऐना झ्यालको पुतली’सँगै एसियन सर्टमा ‘जुलुङ्गो’ छनोट भएको हो ।

एसियाको प्रतिष्ठित कोरियाली फिल्म फेस्टिभल बुसानमा छनोटसँगै निर्माण टोलीले बिहिबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ ।

सो सेक्सनमा एसियाबाट १० फिल्म छनोट हुँदा जुलुङ्गो पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यसको नेपालबाट मीनबहादुर भाम, फ्रान्सका क्याथरिन डसार्ट र हङकङका शुक फोङ चोक निर्माता हुन् ।

यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशको फिल्महरु छानिएका छन् । छानिएका अधिकांश फिल्महरु अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन् । यस सेक्सको विजेताले १० हजार अमेरिकी डलर (करिब रु. ११ लाख ७० हजार) पाउनेछ ।

जुम्लाको परिवेशमा एक बालिकाले आफ्ना पढ्ने रहरलाई आफैभित्र राखेर घरायसी काममा सिमित राख्नुपर्ने बाध्यतालाई जुलुङ्गोको कथावस्तु हो । पश्चिममा जुलुङ्गोको अर्थ बालीनाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ ।

बुख्याँचा बनाउने जिम्मा पाएपछी आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट बन्चित भएकी नानीको कथा हो जुलुङ्गो । बालदिवसको विशेष कार्यक्रमका लागि नृत्य प्रशिक्षण लिँदालिँदै कक्षाकोठाबाटै आमाले हात समाएर नानीलाई घर फर्काएपछि उसको पढ्ने सपना निमोठिन्छ । त्यसपछि एकातिर बालदिवसको चर्को नारा घन्किन्छ भने आर्कोतिर नानी आफ्नो परिवारको लागि खेतमा पसिना बगाउन बाध्य भएको मार्मिक दृश्य फिल्ममा रहेको निर्देशकले बताए ।

मुगुको दुर्गम गाउँका शिक्षक समेत रहेका निर्देशक राजेशप्रसाद खत्री आफ्नै वरिपरीका दुःख साट्न फिल्म निर्माणको हुटहुटी रहेको उनले बताए । उनले भने, ‘विद्यार्थीसँग मेरो गहिरो आत्मियताका कारण उनीहरुका व्यक्तिगत अनुभव र मेरो अवलोकनका उपज हुन्, मैले प्रस्तुत गर्ने कथा ।’

उनको यसअघिको फिल्म ‘जालगेडी’ पनि मुगुकै परिवेशमा बनेको थियो । जसले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो ।

सिडिपी, आरु प्रोडक्सन, अस्लेसा इन्टरटेमेन्ट, ग्रिन एज फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा सूनी फिल्मस्ले निर्माण गरेको फिल्मको सिनेमाटोग्राफी शिशिर बिसंखेले गरेका हुन् । त्यस्तै असिम खनालको सहायक निर्देशन रहेको जुलुङ्गोको किरण श्रेष्ठकोे सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन रहेको छ ।

फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविता भामलगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here