२० मुलुकका किशोरकिशोरीः लकडाउनको शुरुमा खुशी, अहिले साथी भेट्न नपाएको गुनासो

काठमाडौं, ३ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोनाभाइरस) का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।

गैह्रआवासीय नेपाली संघको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनीहरुले आफ्नोे अनुभव साटासाट गरेका हुन् ।

दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा आयोजित ‘टिनएजर प्रेस्पेक्टिभ अन पेन्डामिक’ विषयक भर्चुअल कार्यक्रममा २० भन्दा बढी मुलुकबाट १२ देखि २० वर्षसम्मका किरोशकिशोरीहरुले सहभागिता जनाएका थिए । सहभागीहरुले कोरोना कहरमा आफू, र आफ्नो परिवारले भोगेका तथा देखेका अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा नेपाललगायत नाइजेरिया, क्यानडा, साउदी, अमेरिका, बहराइन, कतार, चीन, लगायत मुलुकमा रहेका किशोरकिशोरीहरुको उपस्थिति थियो ।

कार्यक्रममा रोबिना पौडेल, अभिलासा खतिवडा, प्रसान्त गौडेल, विक्रम केसी, अस्वीनी सिग्देल, जिया हमाल, सुहिम थापा लगायतले कोरोना कहरको अनुभव सुनाए ।

अधिकांशले कोरोना कहरको सुरुवातमा विद्यालय जान नपरेकोमा आफूहरु खुसी भएको तर लामो समयसम्म घरबाहिर निश्किन तथा सामान्य अबस्थामा जस्तै साथीहरुलाई भेट्न नपाएकोमा गुनासो गरेका थिए ।

कतिपयले यो समयमा विद्यालय जान नपर्ने हुँदा अनलाईन कक्षामार्फत अध्ययन गर्ने र बाँकी समयमा आमबुबालाई सघाउने बताएका थिए ।

केही कोशोरकिशोरीहरुले कोरोनाको कहरको समयलाई सदुपयोग गर्दै आफ्नो रुचिअनुसारको खेलकुद तथा अन्य क्रियाकलापमा सहभागी भएको उल्लेख गरेका थिए ।

कार्यक्रममार्फत किशोराकिशोरीले कोरोना महामारीका सम्बन्धमा जिज्ञासा समेत व्यक्त गरे । जिज्ञासाको जबाफ एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले दिएका थिए ।

डा. सापकोटाले कोरोनासँग नडराइ सचेत हुन सबैलाई आग्रह गरे । स्वास्थ्य सुरक्षाका विषयमा ध्यान दिन नसके कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उनले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here