काठमाडौं, ४ असोज । लिबर्टी इनर्जीको प्राथमिक साधरण सेयर (आइपीओ) आइतबारदेखि कारोबारमा आएको छ ।
भदौ पहिलो साता आइपीओ जारी गरेको कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गरेसँगै आजदेखि कारोबारमा आएको हो । नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार २६० कित्ता सेयर कारोबार भएको हो।
कम्पनीले दोस्रो बजारमा कारोबारका लागि नेप्सेमा १ करोड ५० लाख कित्ता सेयर सूचीकृत गरेको हो। कम्पनीले संस्थापकतर्फको १ करोड १२ लाख ५० हजार कित्ता र सर्वसाधरणको ३७ लाख ५० हजार कित्ता सेयर सूचीकृत गरेको हो ।
यद्यपि आज प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार नभएमा भने नियमित सेसनमा कारोबार हुने छैन । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि ‘एलइसी’ संकेत चिह्न प्रदान गरेको छ ।
लिबर्टीले भदौ ३ देखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गरेको थियो।