चाडपर्व लक्षित सहुलियत पसल असोज १५ गतेदेखि, अनलाइनबाट समेत सेवा

फाइलफोटो

काठमाडौं, ८ असोज । दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ ।

आपूर्ति मन्त्रालयले यहि असोज १५ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ ।

जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ । सुपथ मूल्य पसलको संख्या, स्थान र छुट दिने सम्बन्ध भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि घटस्थापना हुनुभन्दा १५ दिन अघि सहुलियत पसल सञ्चालनमा ल्याउन सरकारले असोज १५ देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

विगतमा साल्ट्र ट्रेडिड कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका थिए ।

कहाँ कहाँ र कसरी यस्ता पसलहरू राख्ने सम्बन्धमा अहिले मन्त्रालयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

हरेक वर्ष सरकारले दशैं तिहारका लागि लक्षित गरी चिनी, नुन, तेल, दाल, चामल लगायतका उपभोग्य वस्तुको सहुलियत दरमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

सरकारले उपत्यकाका र उपत्यका बाहिरका विभिन्न स्थानमा यस्ता पसल सञ्चालन गर्दै आएका छन् । सुपथ मूल्य पसल बिहान १० बजेदेखि सञ्चालनमा रहनेछ ।

नेपालमा अहिले कोरोनाको त्रास जारी रहेको छ । मानिसहरुको भिडभाड नियन्त्रणको लागि अनलाइनबाट पनि सेवा दिने गरि तयारी थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here