दूर्गममा द्रुतगतिको इन्टरनेट विस्तार गर्दै टेलिकम, डोटीमा एफटीटीएच सेवा शुरु

काठमाडौं । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटीटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ ।

जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ । अहिलेसम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटीटीएच सेवा जडान गरेका छन् ।

यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य शुरु गरिएको हो ।

उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ । यतिमात्र नभई उक्त सेवाबाट टीभीसमेत चलाउन मिल्ने बनाइएको छ ।

यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार एफटीटीएच सेवाअन्तर्गत न्यूनतम १ वर्षका लागि आड एमबीपीएसको प्याकमा जम्मा रु आठ हजारमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबीपीएसको प्याकमा १२ हजार लाग्ने भएको छ । हाल एफटिटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सीपीइ) र १०० मिटर फाइबर केवल तार निःशुल्क प्राप्त गरिरहेका छन् ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकम दिपायल राजपुरका प्रमुख केशवराज भट्टले बताए ।

उनले भने, ‘यो नेट प्रविधि तारको सट्टामा घरसम्म अप्टिकल फाइवर पुर्याई ट्रिपलप्ले सेवा दिने भएकाले राम्रो छ र इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ, उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ ।’

पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएको दिपायल राजपुर टेलिकमका प्राविधिक मुकेश रावलले जानकारी दिए। हाल जिल्लामा जडान गरिएका दुईवटा एफडीसी (फाइवर डिष्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको र यसमध्ये ७६८ लाइन तत्काल वितरण गर्न सकिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

यसैगरी जिल्लामा थप सात वटा एफडीसी जडान गरी ग्रामीण तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने टेलिकमको योजना छ । जिल्लामा यसअघि एडीएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने टेलिकम राजपुरले जनाएको छ ।

डोटीमा यो सेवा विस्तार भएपछि छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा पनि विस्तार गरिने टेलिकमको योजना रहेको प्रमुख भट्टले जानकारी दिए । ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टीभी सेवा सञ्चालन हुने भएकाले जिल्लामा अहिले यो सेवा लिने ग्राहकको सङ्ख्या बढेको बताइएको छ । रासस

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here