‘खोप आउनु अघि नै कोरोनाले झण्डै २० लाख मानिसको ज्यान जान सक्छ’- डब्लूएचओ

काठमाडौं, १० असोज । कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ ।

डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय रुपमा महामारीविरुद्ध एकीकृत र प्रभावकारी काम नभएमा ज्यान गुमाउनेको संख्या अधिक हुन सक्ने बताएका हुन् ।

गएको वर्षको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा झण्डै १० लाख मानिसको ज्यान गएको छ ।

त्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर सुरु हुन थालेको बीबीसीले जनाएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको ज्यान गएको छ । यस्तै ५९ लाखमा कोरोना पुष्टि भएको भारतमा ९३ हजारको ज्यान गएकाे छ । ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ भने १ लाख ४० हजारको ज्यान गएको छ ।

अहिले विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् भने ९ लाख ९२ हजारको ज्यान गएको छ ।

गृष्म ऋतु आउँदै गर्दा उत्तरी गोलार्धका धेरै देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here