फेरि मापदण्ड विपरीतका ९ प्रकारका सेनिटाइजर विक्री वितरणमा रोक

काठमाडौं, १२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले फेरि ९ प्रकारका ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको हो ।​

विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो।

गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाडौं लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

त्यस्ता सेनिटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ।

यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो।

रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् । यसअगाडि पनि विभागले विभिन्न नौ कम्पनीका ह्यान्ड स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here