किन गरियो यो वर्षको पद्मश्री पुरस्कार रद्द ?

काठमाडौं,१३ असोज । यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको छ ।

सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई पुरस्कार दिने निर्णय विवादमा परेपछि सो पुरस्कार रद्द भएको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ ।

गत आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप लागेपछि प्रश्रितसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताएपछि विवाद सृजना भएको थियो ।

यस्तै गलत आरोप लगाएर विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले समेत पुरस्कार नलिने बताएपछि प्रतिष्ठानले यो वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष अध्यक्ष जीवा लामिछानेले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ, ‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौँ, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने कदापी थिएन ।

सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने प्रतिवद्धता पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष क्रमशः सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने घोषणा अशोज ११ गते भएको थियो ।

त्यसपछि उप्रेतीले यौन उत्पीडनको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार नलिने बताएका थिए । त्यसपछि प्रश्रितले पनि विवादमा ल्याउन खोजिएको भन्दै तत्कालका लागि पुरस्कार नलिने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here