ब्रोइलर कुखुराको चल्ला रंग लगाएर लोकल भन्दै महँगो मूल्यमा बिक्री

काठमाडौं, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग दलेर लोकल कुखुराको चल्ला भनेर बिक्री गर्ने गरेको आरोपमा काठमाडौंमा ४ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्दादेवी साह, वकिल खान, सुमित्रा जैसवाल र प्रेमशिला देवी छन् ।

प्रहरीका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा किनेको चल्लालाई लोकलको जस्तो देखिने गरी रंग दलेर १०० रुपैयाँसम्म प्रतिगोटामा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको फर्ममा छापा मारेर ३ हजार ६ सय ५० वटा रंग लगाइएको चल्ला बरामद गरेको छ । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले जानकारी दिए ।

डीएसपी बोहोराका अनुसार चितवनको अविनाश ह्याचरीबाट खरिद गरेर चल्ला काठमाडौं ल्याएर रंग दलेर बिक्री गर्ने गरेका थिए ।

पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here