चन्द्रमामा मानवबस्ती बसाल्ने चर्चित धनाढ्य जेफ बेजोसको सपना साकार होला ? 

काठमाडाैं, २९ बैशाख । चर्चित इकमर्श साइट अमेजनको सीईओ तथा विश्वकै धनाढ्य जेफ बेजोसले गत शुक्रवार चन्द्रमामा फेरी मानिस पठाउने आफ्नो परिकल्पनालाई सार्वजनिक गरेका छन् ।

एक समारोहका बीच उनले ‘ब्लू ओरिजिन स्पेश प्रोग्राम’ अन्तर्गत तयार गरिएको नयाँ रकेट इन्जिन र अन्तरिक्ष यान पनि प्रस्तुत गरे ।

बेजोसले चन्द्रमामा भ्रमण गराउने र दशौं लाख मानिसलाई राख्न सकिने गरी मानव बसोबास गराउने योजनामा काम गरिरहेका छन् । कार्यक्रममा बेजोसले भने, ‘यो चन्द्रममा फेरी जाने समय हो । अब हामी चन्द्रमामा जाने तयारी गरीरहेका छौं र त्यहाँ बसोबास पनि गर्नेछौं ।’

तर, बेजोसले जुन मुन ल्याडरलाई पेश गरेका छन् त्यसबाट अहिलेको लागि वैज्ञानिक उपकरण, स्याटेलाइट र रोभरमात्रै चन्द्रमामा पठाउन सकिन्छ ।

वासिङ्टनमा नासाका वैज्ञानिक र अन्य चर्चित प्रविधि कम्पनीका मालिकहरु उपस्थित समारोहमा बेजोसले भने, ‘अहिलेसम्म अन्तरिक्षमा कुनै संरचना नभएकाले त्यहाँ केहि गर्न धेरै कठिन छ । त्यसैले मेरो पुस्ताको काम अन्तरिक्षमा आधारभूत संरचना खडा गर्नु हो ताकी चन्द्रमामा जाने सुविधा तयार गर्न सकियोस ।’

बेजोसले आफ्नो परिकल्पना अनुसारको स्पेस कोलोनीको तस्वीरहरु पनि देखाएका छन्, जहाँ मानिसको साथसाथै जनावर र हरियाली पनि रहने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सन् २०२४ सम्ममा चन्द्रमामा फेरी मानिस पठाउने घोषणा गरेका थिए । नासाले पनि यसको लागि विभिन्न निजी कम्पनीहरुसँग काम गरिरहेको छ ।

‘बेजोसको ब्लू ओरिजिन’ प्रोगामलाई पनि नासाले साथ दिएको छ । नासाले ‘स्पेस एक्ट एग्रीमेन्ट’ बेजोसको कम्पनीलाई आर्थिक सहयोग समेत गरीरहेको छ । तर, जेफ बेजोसको परिकल्पना अनुसार सबै योजना साकार हुन्छ कि हुँदैन भने हेर्न बाँकी नै छ ।

(एजेन्सीको सहयोगमा) 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here