उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने

काठमाडौं, १६ असोज । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

‘आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुल्ला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ,’ महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो ।

उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेकोले अवस्था छ ।

नेपाल सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो ।

पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधको आदेशलगायतबाट हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here