सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि अब लकडाउन नहुने

काठमाडौं, १७ असोज । देशैभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि लकडाउन नहुने सरकारले स्पष्ट पारेको छ।

शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको जनाएका हुन्।

यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।

अहिले मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।

सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ ।

सरकारले गएको चैत ११ गतेदेखि साउन ६ गतेसम्म देशभर लकडाउन गरेको थियो। त्यस्तै ४ भदौदेखि तीनसातासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here