‘काे बन्छ कराेडपति’मा पहिलाे कराेडपति बने राजिब जैन, विश्व भ्रमण गर्ने याेजना

काठमाडौं, ३० बैशाख । एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको विश्वप्रसिद्ध अंग्रेजी फ्रेन्चाइजी टेलिभिजन शो ‘हु वान्ट्स टु बी अ मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’को पहिलो सिजनमा एक प्रतियोगीले पहिलोपल्ट सर्वाधिक पुरस्कार राशी एक करोड रुपैयाँ जितेका छन् ।

आइतबार प्रसारण भएको कार्यक्रमको ४२ औं भागमा मोरङ विराटनगरका ४३ वर्षिय राजिब जैनले सबैप्रश्नको सहि उत्तर दिँदै एक करोड रुपैंया जितेका हुन् । एक करोडको पुरस्कार राशी जितेपछि उनले केहि रकम समाजसेवामा खर्च गर्ने र बाँकी रकमले विश्व भ्रमण गर्ने बताए ।

एक करोडको प्रश्न अर्थात अन्तिम प्रश्नको रुपमा उनलाई सोधिएको थियोः ‘२००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’

उक्त प्रश्नको उत्तरमा दिइएका चार अप्सनमध्ये ‘वि. स. २०१४ साल माघ १९ गते’को अप्सन रोजेका उनको उत्तर सहि भएपछि कार्यक्रम सञ्चालक अभिनेता राजेश हमालले उनलाई एक करोड रुपैंयाको चेक हस्तान्तरण गरे । यसअघि नेपाली संस्करणमा कुनै पनि प्रतियोगीले ६ लाख ४० हजार रुपैंयासम्म मात्रै जित्न सफल भएका थिए ।

कार्यक्रम सञ्चालक राजेश हमालले अन्तिम प्रश्न सोधेपछि उनले अप्सन ए र बी मा कन्फ्युज भएको बताएका थिए ।

त्यसपछि अनुमानको भरमा खेल्दा प्रश्नको उत्तर गलत भएमा तीन लाख २० हजार मात्रै पाइने, सहि भएमा १ करोड पाइने र अझै पनि प्रश्नको सामना नगरेमा ५० लाख पाइने भन्दै हमालले खेल परित्याग गरेर उनलाई सुरक्षित रुपमा ५० लाख लिन सुझाएका थिए ।

तर, उनले दृढतापूर्वक जवाफ दिँदै, ‘कि एक करोड जित्ने हैन भने तीन लाख ३० हजारमै खुसी हुन्छु, ५० लाख लिएर खेल परित्याग गर्ने मान्छे म हैन’ भनेर अप्सन बी रोजे ।

अन्ततः उनको अनुमान सहि निस्कियो र उनी को बन्छ करोडपतिको पहिलो एक करोड विजेता बन्न सफल भए ।


हरेक प्रश्नको उत्तर दिँदा त्यसको पृष्ठभूमिको पनि वर्णन दिँदै खेल खेलेका उनको प्रस्तुति निक्कै नै चाखलाग्दो थियो । उनको ज्ञानभण्डारबाट कार्यक्रम संचालक हमाल पनि आश्चर्यचकित भएका थिए ।

को हुन् त जैन ?

मोरङको विराटनगरमा मारवाडी परिवारमा ४३ वर्ष अघि जन्मिएका जैन अहिले काठमाडौंमा काकासँगको साझेदारीमा व्यापार व्यावसाय गर्दै आएका छन् ।

अरनिको विद्यालयमा पढेका उनी विस २०४९ को एसएलसीमा मोरङ जिल्ला प्रथम भएका थिए । त्यसपछि महेन्द्र मोरङ क्याम्पस हुँदै दिल्ली विश्वविद्यालबाट सन् २००३ एमबीए उत्तिर्ण गरेका छन् ।

दुई छोरी, एक छोरा र श्रीमतीसहित ललितपुरको सानेपामा बस्दै आएका उनी क्रिकेट खेलको सौखिन पनि हुन् ।
विद्यालय स्तरमा समेत हाजिरिजवाफको प्रतियोगितामा भाग लिएर विभिन्न पुरस्कारहरु जितेको उनले कार्यक्रममा बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here