उपत्यकामा बढ्दो संक्रमणले दशैंको यात्रा अलमल

काठमाडौं, २३ असोज । देशभर घुमघाम र पर्यटकीय गतिविधि खुला भएका छन् । मानिसहरु बिदाको सदुपयोग गरी भ्रमणमा निस्कने मुडमा समेत थिए । तर, काठमाडौं उपत्यकामा बढेको कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभावका कारण दशैं यो वर्ष सुनसान हुने देखिएको छ । यातायात व्यवसायीहरुका अनुसार लामो दूरीका यातायातका साधनमा यात्रु छैनन् ।

उता, अत्यावश्यक कामले यात्रा गर्नेहरुले पायक पर्ने स्थानसम्म हवाई यात्राको प्रयोग गरिरहेका छन् । सोहीकारण हवाई यात्रु ९० प्रतिशत अक्कुपेन्सीमा रहेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । यद्दपी यो संख्या दशैंसम्म नै यस्तै निरन्तर रहन्छ भन्नेमा भने शंका उत्पन्न भएको छ । आम मानिसहरुलाई सरकारले जो जहाँ छ, त्यही स्थानमा बसेर दशैं मनाउन आह्वान गरेको छ ।

शहरबाट गाउँ र गाउँबाट मानिसको आवतजावतले संक्रमणसमेत संगै यात्रा गर्ने हुँदा गाउँमा रहेका जेष्ठ नागरिकको स्वास्थ्यमा जोखिम निम्तने समस्या रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम सोही कारण जोखिम मोलेर यात्रा नगर्न आग्रह गर्छन् ।

स्वास्थ राम्रो भएमा चाडबाड फेरी पनि मनाउन सकिने भन्दै उनले यो वर्ष जो जहाँ छ, त्यहीबाट दशैं मनाउन आग्रह गरे । सरकारका यस्ता आग्रह र परिस्थिति हेर्दा यो वर्ष दशैंका अधिकांश गन्तब्य सुनसान हुने देखिएको छ । लकडाउन खुलेपछि अर्थतन्त्र चलायमान हुन आशमा रहेका व्यवसायी तथा मजदुरलाई यो परिस्थितिले पुनः एक पटक निरास पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here