आइसियु, भेन्टिलेटर नपाएर समस्यामा हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

फाइल फोटो

काठमाडौं, २४ असोज । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । बिरामीको संख्या थपिएसँगै आइसियु र भेन्टिलेटर अभाव समाचार सार्वजनिक भइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसियु र ५७ जना भेन्टिलेटर, प्रदेश ५ मा ३५ जना आइसियु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार उपत्यकामा सरकारी अस्पतालमा १३४ र निजी अस्पतालमा ७२ आइसियु क्षमता रहेको जानकारी दिए। उनका अनुसार सरकारी अस्पतालमा ५४ र निजी अस्पतालमा २८ भेन्टिलेटरको क्षमता छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितलाई घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ ।

थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here