सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड

काठमाडौं, २४ असोज । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरूका लागि मापदण्ड सार्वजनिक गरेको हो ।

सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन अनुरोध गरेका छन् ।

सरकारले धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन अनुरोध गरेको छ । मन्दिरमा भगवानका मूर्ति नछुन र भेटघाट गर्दा टाढैबाट नमस्कार गर्न सरकारले भनेको छ । भेटघाटमा अंगालो मार्ने वा शरीर छुने काम नगर्न सरकारले अनुरोध गरेको छ ।

एउटै घरका व्यक्तिबाहेक अरूसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ ।

देवीदेवताका मूर्तिहरू नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थलमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरूले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागी नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्केरी महिला र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here